चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी


 


एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः आग्रह गरेका छन् ।

उनले आर्थिक अखबार फाइनान्सियल टाइम्ससँगको कुराकानीका क्रममा आफूले चिनियाँ अधिकारीहरुसँगको द्विपक्षीय छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गरेको बताएका हुन् ।

विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता वृद्धि गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।

डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमै कोरोना भाइरसको उत्पत्तिबारे ‘आफूहरुलाई सूचना दिन’ आग्रह गरेको उनको भनाइ छ । उनले चीन सहमत भएको खण्डमा कोरोना भाइरसबारे थप अध्ययन गर्न डब्लूएचओले एउटा टोली त्यसतर्फ पठाउन पनि तयार रहेको जनाए ।

उनले यसअघि पनि पटक पटक चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन आग्रह गर्दै आएका छन् । कोरोना भाइरस सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा देखा परेको थियो । यसको महामारीका कारण विश्वभर दशौँ लाख मानिसहरुको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्