पाकिस्तान र न्युजिल्यान्डको खेल दर्शकविहीन हुने, यस्तो छ कारण


 


काठमाडौं, असोज ९ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ ।

विश्वकप सुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्नेछन् । पाकिस्तानले पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ ।

तर, पाकिस्तान र न्युजिल्यान्डबीचको उक्त अभ्यास खेल दर्शकविहीन रङ्गशालामा खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि उक्त अभ्यास खेल दर्शकविहीन रङ्गशालामा खेलाइने समाचारको पुष्टि गरेको छ ।

सुरक्षाको कारणले पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको बीसीसीआईले जनाएको छ ।

हिन्दु धर्मावलम्बीको महान् पर्व नजिकै रहेको र हैदराबादमा विभिन्न धार्मिक उत्सव सुरु हुने भएकाले पाकिस्तानी टोलीको अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको समाचारमा जनाइएको छ ।

पाकिस्तानले पहिलो अभ्यास खेल खेल्ने दिन नै गुवाहाटीमा बंगलादेशले श्रीलंकासँग र थिरुभाननथापुरममा दक्षिण अफ्रिकाले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ । ती दुवै अभ्यास खेल दर्शकसहितको रङ्गशालामा खेलाइने छ ।

सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिने छ । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकपका खेलहरू सुरु हुनेछन् । पाकिस्तानले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ६ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि सबै टोलीले दुई—दुईवटा अभ्यास खेल खेल्ने प्रबन्ध मिलाएको छ । यसै क्रममा पाकिस्तानी टोलीले पनि विश्वकपअघि दुईवटा अभ्यास खेल खेल्न लागेको हो ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्