चिनियाँ आवासीय विद्यालयमा १० लाख तिब्बती बालबालिका !


 


सन् ०१६ को नोभेम्बरको अन्त्यताका एक दिन मेरा भाइले चिन्तित हुँदै फोन गरे । उनी मलाई उनका नाति–नातिनीको चेकजाँच गरिदिनुप¥यो भनिरहेका थिए । ‘केही अनौठो भइरहेको छ,’ उनले भने । त्यसबखत ती कलिला नाति–नातिनी क्रमशः चार र पाँच वर्षका थिए, जो चिनियाँ सरकारले स्थापना गरेको बोर्डिङ प्रि–स्कुल(आवासीय पूर्वप्राथमिक विद्यालय)मा केहीअघि मात्रै भर्ना भएका थिए । तिब्बती पठारको उत्तरपूर्वी कुनोमा रहेको मेरो गृहनगर कानल्होमा अवस्थित उनीहरूको त्यस नयाँ स्कुल बेइजिङका प्रि–स्कुलहरूको सञ्जालकै एक हिस्सा थियो । यी स्कुलले तिब्बती बालबालिकालाई आफ्नो परिवार र समुदायबाट अलग गरेर चिनियाँ संस्कृतिमा समाहित गर्छन् । म आफँैले तिब्बतका तीनवटा प्रिफेक्चरमा यस्ता लगभग १६० स्कुल गनेको छु ।

यी साना नानीहरूले स्कुल सुरु गरेको तीन महिना मात्र भएको थियो, तर उनीहरूले आफूलाई तिब्बती पहिचानबाट अलग्याउन थालिसकेका मेरो भाइले वर्णन गरे । सप्ताहिक बिदामा उनीहरू स्कुलबाट आफ्नो घर–परिवारमा फर्कदा घरको खाना खान रुचाउँदैनथे । उनीहरूमा हाम्रो बौद्ध परम्पराप्रति चासो कम हुन थालेको थियो । तिब्बती भाषा पनि कम बोल्न थालेका थिए । सबैभन्दा डरलाग्दो त के भने उनीहरू भावनात्मक रूपमा हाम्रो परिवारबाट टाढिँदै गइरहेका थिए । ‘केही गरिएन भने मैले उनीहरूलाई गुमाउन सक्छु,’ मेरो भाइले चिन्तित हुँदै भने ।

म केही दिनपछि सप्ताहन्तमा ती नानीहरूलाई लिन उनीहरूको स्कुल गएँ । स्कुलको ढोकाबाट बाहिर निस्केपछि मलाई देखेर उनीहरूले हात हल्लाए, तर खासै कुराकानी भने गरेनन् । जब हामी घर पुग्यौँ, अघि–अघिजस्तो यी नानीहरूले आफ्ना आमाबाबुलाई अँगालो हालेनन् । उनीहरूले आफू–आफूबीच मन्डारिन मात्र बोले, परिवारसँग रातिको भोजन गर्दा पनि अधिकतर चुपचाप नै बसे । यस्तो लाग्थ्यो, उनीहरू आफ्नै घरमा अपरिचितजस्तो भएका थिए ।

जब मैले यी नानीहरूलाई स्कुलको बारेमा सोधेँ, जेठीले स्कुलको पहिलो दिन धेरै केटाकेटीले आफ्नै सुरुवालमा दिसा–पिसाब गरेका थिए भनेर बताइन् । उनीहरू मन्डारिन मात्र बोल्ने र बुझ्ने शिक्षकहरूसँग कुराकानी गर्न नसकेर आत्तिएका थिए रे !

सन् १९८५ मा तिब्बतभित्र स्थापना गरिएका बोर्डिङ स्कुलका अतिरिक्त, बेइजिङले आफ्नो अन्तरदेशीय स्कुलिङ कार्यक्रम ल्यायो, जसले तिब्बती विद्यार्थीलाई मुख्य भूमि चीनका बोर्डिङ स्कुलमा पठाउँछ ।

चीन सरकारले तिब्बतमाथि नियन्त्रण र वैधता कायम गर्ने आफ्नो ७० वर्ष लामो प्रयासलाई निरन्तरता दिइरहेको छ । यसैक्रममा उसले राजनीतिक नियन्त्रण हासिल गर्न शिक्षालाई रणभूमिका रूपमा प्रयोग गर्न थालेको छ । सरकार बालबालिकालाई तिनका परिवार र परिचित परिवेशबाट अलग गरेर सजिलै नियन्त्रण र तोडमोड गर्न सकिने विषय र चिनियाँ भाषामा मात्रै पढाइ हुने आवासीय विद्यालयमा भर्ना गरेर तिब्बतको युवापुस्तालाई चिनियाँ कम्युनिस्ट पार्टीमा बफादार बनाउने चाल चालिरहेको छ ।

आज यी बोर्डिङ स्कुलमा चारदेखि १८ वर्ष उमेर समूहका लगभग १० लाख बालबालिका अध्ययनरत छन्, जुन तिब्बती बालबालिकाको कुल संख्याको लगभग ८० प्रतिशत हो । यीमध्ये कम्तीमा एक लाख बालबालिका मेरा भतिजीजस्तै केवल चार वा पाँच वर्षका छन् ।

यी साना नानीहरूको कथा सुनेपछि मैले मेरो भाइलाई उसले उनीहरूलाई पढ्न नपठाए के हुन्छ भनेर सोधेँ । उसले आँसु झार्‍यो । यो नयाँ नीतिको अवज्ञा गर्नुको अर्थ सरकारी सुविधाबाट आफ्नो नाम कालोसूचीमा राख्नु हो । यी नयाँ विद्यालयको विरोध गर्नेहरूले भयानक परिणाम भोग्नुपरेको उनले बताए ।

उनीसँग अर्काे कुनै विकल्प पनि थिएन । हुन त तिब्बती बालबालिकाका लागि चिनियाँ बोर्डिङ स्कुलहरू सन् १९८० को दशकको सुरुवातदेखि नै सञ्चालन हुँदै आएका हुन्, तर केही समयअघिसम्म पनि यहाँका अधिकांश विद्यार्थी माध्यमिक र उच्च माध्यमिक विद्यालयमा पढ्थे । सन् २०१० को आसपासबाट सरकारले आवासीय पूर्वविद्यालयको नयाँ लहरको तयारीस्वरूप हाम्रो गृहनगरसहित गाउँका स्थानीय विद्यालय बन्द गर्न थाल्यो । त्यसपछि प्राथमिक विद्यालयका लागि पूर्वप्राथमिक विद्यालय पढेकै हुनुपर्ने बनाइयो । तर, धेरैजसो नयाँ बोर्डिङ स्कुलहरू बालबालिकाका घरबाट टाढा छन् । बालबालिकालाई यी स्कुलमा भर्ना गर्न इन्कार गर्नुको अर्थ उनीहरू शिक्षाविनै हुर्किनुपर्नेछ, पहिले नै सीमान्तकृत ती बालबालिका अर्थव्यवस्थाबाट थप सीमान्तकृत हुनेछन् ।

सन् २०१८ को मार्चमा, संसद्को वार्षिक बैठकमा राष्ट्रपति सी चिनफिङले भनेका थिए, ‘मूलभूत समाजवादी मूल्यले यस सबै जातीय समूहको साझा आध्यात्मिक घरमा पनि माहोल तयार गर्नुपर्छ र मानिसहरू, विशेषगरी बालबालिकाहरूमा समेत यसको पक्षपोषण गर्नु आवश्यक छ’

आफ्नो परिवारमा देखिएको यस्तो परिवर्तनबाट व्यथित भएर त्यसपछिको केही वर्षमा मैले चीनले किङ्हाई, सिचुआन र गान्सु प्रान्त भन्ने उत्तरी र पूर्वी तिब्बतका ५० भन्दा बढी आवासीय पूर्वप्राथमिक विद्यालयको भ्रमण गरेँ । तीन वर्षको फिल्डवर्क अनि विद्यार्थी, अभिभावक र शिक्षकसँगको भेटघाटका दौरान मैले जे पत्ता लगाएँ, त्यो मैले कल्पना गरेकोभन्दा खराब थियो । मैले आफ्नो मातृभाषा बोल्न नसक्ने स–साना तिब्बती नानीबाबुहरूलाई भेटेँ । यी विद्यालयले अभिभावकीय भ्रमणलाई कडाइका साथ नियन्त्रण गर्छन् ।

केही अवस्थामा स्कुले केटाकेटीले प्रत्येक ६ महिनामा एकचोटि मात्र आफ्नो परिवारलाई भेट्न पाउँछन् । छात्रावास, खेल मैदान र शिक्षकका कार्यालयको निगरानी सघन थियो । मैले कक्षाकोठामा निगरानी क्यामेराहरू जडान गरिएको देखेँ । निःसन्देह शिक्षकहरूमध्ये धेरैजसो तिब्बती भाषा र संस्कृतिको कुनै पृष्ठभूमि नभएका युवा चिनियाँ स्नातक थिए । यी विद्यालयले केवल सिसिपी–अनुमोदित पाठ्यपुस्तक मात्रै प्रयोग गर्थे ।

यसक्रममा मैले घुमन्तेहरूको सहर जोर्गेमा अवस्थित एउटा स्कुलको भ्रमण गरेको थिएँ । घरको यादले एकदमै निरासिएको एउटा बच्चाले निकै मलीन स्वरमा मसँग यसो भन्यो, ‘जब रात पर्छ अनि जब म आफ्नो काम गर्न सक्दिनँ, मलाई मेरी आमा र हजुरबा, हजुरामाको एकदमै याद आउँछ ।’ मेरो गाउँकी एउटी महिला, जसका ससाना छोराछोरीहरू बोर्डिङ स्कुलमा थिए, उनले मलाई यसो भनिन्, ‘खेतबारीमा दिनभरि काम गरेर थकित भएर घर फर्किंदा म आफ्ना चार–पाँच वर्षका छोराछोरीलाई अँगालो हाल्न चाहन्छु । तर, उनीहरू यहाँ छैनन् ।’ आफ्नो विछोडको पीडालाई निको पार्न उनी र उनको गाउँका अन्य जवान आमाहरूको एक समूहले ल्हासाको १२ सय किलोमिटर लामो पैदलयात्रा गरेको थियो ।

एकजना गाउँलेले मलाई यसो भने, ‘सरकार हाम्रो होइन भनेर हामीलाई थाहा छ । जब अधिकारीहरू हाम्रो सहरमा आउँछन्, उनीहरूलाई हाम्रो भाषा वा हामीसँग कसरी कुराकानी गर्ने भन्नेसमेत थाहा हुँदैन ।’ अर्काे एकजनाले चाहिँ यस्तो प्रश्न गरे, ‘जे भइरहेको छ, त्यसलाई रोक्न सकेनौँ भने हाम्रो भाषा र संस्कृति कसरी बाँच्न सक्ला र ?’

तिब्बती संस्कृति मेट्न बेइजिङले विद्यालयको प्रयोग गर्नु कुनै नौलो कुरा होइन । सांस्कृतिक क्रान्तिको समयमा पनि सरकारले थुप्रै स्कुलमा तिब्बती भाषाको शिक्षामा प्रतिबन्ध लगाएको थियो । त्यसपछि, सन् १९८५ मा तिब्बतभित्र स्थापना गरिएका बोर्डिङ स्कुलका अतिरिक्त, बेइजिङले आफ्नो अन्तरदेशीय स्कुलिङ कार्यक्रम ल्यायो, जसले तिब्बती विद्यार्थीलाई मुख्य भूमि चीनका बोर्डिङ स्कुलमा पठाउँछ । चीनको जातीय नीतिविज्ञ जेम्स लिबोल्ड यी विद्यालयलाई कसरी चिनियाँ हुने, कसरी चिनियाँ तौरतरिका, सोचाइ र जीवनशैलीअनुरूप हुने भनेर प्रशिक्षित गर्ने सैन्य शैलीको बुट क्याम्पका रूपमा वर्णन गर्छन् । यी विद्यालयमा सन् २००५ सम्ममा २९ हजार तिब्बती विद्यार्थीले अध्ययन गरिसकेका थिए ।

यो प्रवृत्ति थप तीव्र भएको छ, अझ साना बच्चामा पुगेको छ । सन् २०१८ को मार्चमा, संसद्को वार्षिक बैठकमा राष्ट्रपति सी चिनफिङले भनेका थिए, ‘मूलभूत समाजवादी मूल्यले यस सबै जातीय समूहको साझा आध्यात्मिक घरमा पनि माहोल तयार गर्नुपर्छ’ र ‘मानिसहरू, विशेषगरी बालबालिका र किन्डरगार्टनहरूमा समेत यसको पक्षपोषण गर्नु आवश्यक छ ।’

युवा तिब्बतीहरूलाई उनीहरूको संस्कृतिबाट अलग गर्ने बेइजिङको यस प्रयासप्रति अन्ततः वासिंटनको ध्यानाकर्षित भएको छ । गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ‘तिब्बती बालबालिकालाई सरकारी बोर्डिङ स्कुलमा जबर्जस्ती भर्ना गराउने’ कार्यमा संलग्न चिनियाँ अधिकारीमाथि अमेरिकाले भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । क्यानडा र अस्ट्रेलियाजस्ता अन्य देशले औपनिवेशिक बोर्डिङ स्कुलहरूको आफ्नो इतिहास स्मरण गर्ने र उनीहरूले पनि ब्लिंकेनकै पदचिह्न पछ्याउने अपेक्षा गर्न सकिन्छ । किनकि चीनले उत्साहपूर्वक मेरो मातृभूमिमा तीनै भयावह स्थिति दोहो¥याउँदै छ ।

म अन्तर्राष्ट्रिय ध्यानाकर्षणले बेइजिङलाई आफ्नो नीतिमा पुनर्विचार गर्न र मेरा ती नातेदारजस्ता ससाना बालबालिकालाई बदल्ने कार्य रोक्न बाध्य पार्नेछ भन्ने आशा मात्र गर्न सक्छु । वर्षाैँको फिल्डवर्कपश्चात्, म तिब्बती संस्कृतिको भविष्यका लागि अत्यन्त चिन्तित छु । किनकि धेरैभन्दा धेरै बालबालिका चिनियाँ बन्न बाध्य हुँदै गए यो संस्कृति बिस्तारै लोप हुनेछ र मैले जानेको र संवद्र्धन गरेको तिब्बती संस्कृति भावी पुस्ताका लागि जीवित रहनेछैन । मलाई चिन्ता छ, उनीहरू आफ्नै घरमा, आफ्नै मातृभूमिमा आफ्नो पहिचानप्रति सदासर्वदा अपरिचित भएर हुर्किनेछन् । – न्युयोर्क टाइम्सबाट

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्