चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक, नेपाल सरकारले यस्तो राजदूतलाई छोड्नुहुँदैन् : राजेन्द्र महतो


 


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दल बलियो भएर जाने स्पष्ट पारेका छन् । उनले लोसपा नफुट्ने दाबी गरेका छन् । उनले आफू र अध्यक्ष महन्थ ठाकुरबीच कुरा मिलेको पनि स्पष्ट पारे । उनले देशमा अब ठूलो क्रान्ति हुन लागेको पनि खुलासा गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको जस्तो राम्रो व्यवस्था नभएको पनि जिकिर गरे । तर, विभेदकारी र एकल चिन्तन सोचको विरुद्धमा जनता सडकमा आउने उनको दाबी छ । उनले अब सबैले एक भएर क्रान्ति गर्ने टिप्पणी गरे । उनले ढिलो/चाँडो नेपालमा राष्ट्रिय मुक्ति आन्दोलन हुने बताए ।

चिनियाँ राजदूतको नेपाल–भारत सम्बन्धसम्बन्धी अभिव्यक्तिलाई लिएर नेता महतोले कडा आलोचना गरे । उनले भने,‘आजसम्म कुनैपनि देशको राजदूतले आफ्नो देशको बारेमा मात्रै कुरा गरेको सुनेका थियौं, आफ्नो मुलुकमा बोल्नु त्यो त धर्म हो । दायित्वभित्र पर्छ । तर, त्यो राजदूतले अर्को तेस्रो देशको बारेमा अभिव्यक्ति दिने, यो त दुनियाँमा भएकै थिएन । मैले त सुनेको थिईनँ । तर, यहाँ चिनियाँ राजदूतले त्यो कुरा बोल्यो । कस्तो गैरजिम्मेवार । डिप्लोम्याटिक नम्र्सलाई धज्जी उडाएर, यो त हुँदै भएन नि । चीनको राजदूतले भारतसँग नेपालको सम्बन्धको बारेमा प्रश्न उठाउने ? यस्तो पनि हो ? अलिकति नैतिकता हुने हो भने नेपाल सरकार होस वा चीन सरकार होस, यस्तो राजदूतलाई छोड्नुहुँदैन् ।’

एउटा राजदूतले आफ्नो सिमाभित्र रहेर बोल्नुपर्ने उनको भनाई छ । उनले चिनियाँ राजदूतको अभिव्यक्तिले पराकाष्ठा नाघेको र उक्त अभिव्यक्ति स्वयम चीनको पनि हितमा नरहेको बताए । चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक र अक्षम्य रहेको दाबी गरे । उनले बीआरआई सम्झौता नेपालको लागि नयाँ नभएको जिकिर गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशलाई डुबाउने काम नगर्न सुझाव दिए । बीरआईमार्फत ऋण लिने देशहरु डुबेको स्मरण गराउँदै त्यो काम नगर्न उनले प्रधानमन्त्री दाहाललाई सुझाव दिए । अनुदान लिने कुरामा नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिए । तर, ऋण लिन भने सरकारले सोच्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्