राष्ट्रपति सीको बुढ्यौलीले चीनको सत्ता राजनीतिमा समस्या आउने संकेत


 


काठमाडौं । ‘कम्युनिस्ट चीन’ का संस्थापक नेता माओ चतोङको सन् १९७६ मा मृत्यु हुँदा उनी ८६ वर्षका थिए । सन् १९४९ को नयाँ जनवादी क्रान्तिको अवधिमा माओ जति लोकप्रिय थिए, जीवनको उत्तरार्द्ध र सांस्कृतिक क्रान्तिको अवधि (सन् १९६६–७६) मा उनी त्यतिकै लोकप्रिय थिएनन् । बरु उनको व्यक्तित्व विवादास्पद भइसकेको थियो ।

माओको निधनपछि पनि चीनको सत्ता हस्तान्तरण प्रक्रिया त्यति सहज भने रहेन । माओकी श्रीमती चियाङ चिङ नेतृत्वको ‘ग्याङ अफ फोर’ र तङ स्याओ फेङ गुटबीचको शत्रुतापूर्ण सत्ता–संघर्षले हलचल मच्चायो । अन्तत: यसले चियाङलाई जेल पुर्‍यायो । उनले सन् १९९१ मा जेलमै ७७ वर्षको उमेरमा आत्महत्या गरिन् ।

माओको निधनपछिको घटनाक्रमले उदाएका नेता तङ आफैँ पनि बुढ्यौली उमेरका थिए । उनले ‘वरिष्ठ आठको समूह’ बनाएर चिनियाँ कम्युनिस्ट पार्टी र राज्यको शासन सत्ता सञ्चालन गरेका थिए । सन् १९७८ मा शक्तिमा आउँदा उनी ७४ वर्षका थिए । उनी सन् १९९७ मा ९३ वर्षको उमेरमा बिते । औपचारिक पदमा नरहे पनि ‘सर्वोच्च नेता’ का रूपमा पार्टी र राज्यसत्तामा उनको बलियो पकड थियो ।

यी घटना र अनुभवबाट तङ र उनका अनुयायीको समूहलाई लाग्यो कि, सत्ता हस्तान्तरणको शान्तिपूर्ण र विधिसम्मत तरिका हुनुपर्दछ । अन्यथा यसले पार्टी र शासन सत्तालाई हानी गर्दछ । त्यो बेला तङले बारम्बार भन्ने गरेको एउटा शब्द थियो– व्यक्ति चाहे जतिसुकै व्यक्तित्वशाली किन नहोस्, सबै शक्ति लामो समय कसैमा केन्द्रित हुँदा प्रकारान्तले नराम्रो परिणाम आउँछ ।

सन् १९८२ मा तङ स्याओ फेङले संविधान मै दुई कार्यकालका लागि मात्र राष्ट्रपति हुन पाउने व्यवस्था गरेका थिए । यसको पहिलो प्रयोग भने सन् २००२ मा मात्र भयो । सन् २००२ मा राष्ट्रपति जियाङ जेमिन शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने पहिलो व्यक्ति थिए । सन् १९८९ मा राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव भएका जियाङले विना कुनै अवरुद्ध हु चिन्ताओलाई सत्ता हस्तान्तरण गरे ।

यो प्रचलनलाई हु चिन्ताओले समेत कायमै राखे । उनले सन् २००२ देखि सन् २०१२ सम्म १० वर्ष शासन गरेर अहिलेका राष्ट्रपति सी चिनफिङलाई सत्ता हस्तान्तरण गरे ।

जियाङ जेमिन र हु चिन्ताओका दृष्टान्तपछि विश्वलाई लागेको थियो कि, चीनको एक दलीय कम्युनिस्ट शासनमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको एक नयाँ विधि स्थापित भयो । तर, राष्ट्रपति सी चिनफिङले सन् २०१८ मा दुई कार्यकालको प्रावधान संविधान संशोधन गरेर हटाइदिए ।

संविधान संशोधन गरेर दुई कार्यकालको प्रावधान अन्त्य गर्ने राष्ट्रपति सीको निर्णय सन् २०२३ मा पूरा हुने उनको दुई कार्यपछि तेस्रो कार्यकालको बाटो खोल्नु हो भनेर सबैले बुझेका थिए । नभन्दै त्यस्तै भयो । उनी अहिले तेस्रो कार्यकालका लागि राष्ट्रपति छन् । तर, उनले तेस्रो कार्यकालपछि पनि शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्लान् कि नगर्लान् कुनै ग्यारेन्टी छैन ।

विश्लेषकको अनुमान छ कि, राष्ट्रपति सी माओ वा विश्व कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता जस्तै आजीवन सत्तामा बस्ने भावनाले प्रेरित छन् । सोभियत संघका जोसेफ स्टालिन, लियोनिद ब्रेझनेभ, युरी आन्द्रोपोभ र कस्टान्टिनो चेर्नेनको आजीवन सत्तामा बसेका थिए । लेनिनको ५४ वर्षको उमेरमा निधन भएको थियो भने निकिता ख्रुश्चेभ र मिखायल गोर्भाचेभलाई अपदस्थ गरिएको थियो ।

विघटन भइसकेको अर्को कम्युनिस्ट मुलुक युगोस्लाभियाका मार्सल टिटो पनि आजीवन सत्तामा बसेका थिए । सन् १९८० मा निधन हुँदा उनको उमेर ८८ वर्षको थियो । क्युवाका फिदेल क्यास्त्रोले सन् १९५९ देखि सन् २००८ सम्म ४९ वर्ष निरन्तर पार्टी र राज्यको नेतृत्व गरेका थिए । सन् २००८ मा सत्ता छोडेको क्यास्त्रोको सन् २०१५ मा निधन भएको थियो । उत्तर कोरियाका किम इल सुङ र किल जोङ इल दुवैले आजीवन सत्ताको नेतृत्व गरे ।

राष्ट्रपति सीले तङ युगमा स्थापित भएको दुई कार्यकाल र शान्तिपूर्ण सत्ता हस्तान्तरण विधिलाई अन्त्य गरेपछि चीन पुन: माओकै युगमा फर्किएको छ । सँगसँगै यो भय पनि उत्पन्न भएको छ कि राष्ट्रपति सी माओझैं संवैधानिक रूपमा अब आजीवन शासनसत्तामा त रहन सक्ने छन् र त्यतिञ्जेल उनको उमेर र स्वास्थ्यले कति साथ देला ?

राष्ट्रपति सी आजीवन सत्तामा रहे भने चीनको राजनीति र इतिहासमा कस्तो मोड आउँला ? पार्टीभित्रका अन्तरविरोध कसरी अघि बढ्लान् ? के सी साँच्चै माओ, स्टालिन र टिटोझैं आजीवन सत्तामा कायम रहन सफल होलान् ? कि फिदेल क्यास्त्रोझैं निश्चित उमेर र बुढ्यौलीपछि सत्ता हस्तान्तरण गर्लान् ? कि ख्रुश्चेभ र गोर्भाचेभझैं अपदस्त होलान् ? कि तङझैं औपचारिक पदमा नरहेर पनि सम्मानित तथा सर्वोच्च नेताका रूपमा चीनको शासनसत्ता सञ्चालनमा उल्लेखनीय भूमिका गर्लान् ?

राष्ट्रपति सीको तेस्रो कार्यकाल प्रारम्भ भएको एक वर्ष पनि भएको छैन । यसै वर्षको मार्चमा उनको तेस्रो कार्यकाल प्रारम्भ भएको थियो तर चार वर्षपछि र त्यसपछिका दिनमा सी र चीनको राजनीतिक भविष्य के हुने हो भन्ने विश्लेषण अहिलेदेखि नै सुरु भएको छ । तेस्रो कार्यकाल सम्हाल्दै गर्दा उनी ७० वर्ष लाग्दै थिए ।

राष्ट्रपति सीले सन् २०१३ मा आफ्नो पहिलो कार्यकाल प्रारम्भ गर्दा चीन उन्नतिको शिखरतिर थियो । तीव्र आर्थिक वृद्धि गरिररहेको थियो । उनले चीनको अति महत्त्वाकांक्षा विश्व परियोजना बीआरआई सुरुवात गरे । ब्रिक्सको निर्माणमा सहभागिता गरे । अमेरिकासँगको व्यापार युद्ध सामना गरे । साथै, चीन विश्वको दोस्रो अर्थतन्त्र र दोस्रो शक्ति राष्ट्र भएको संसारले स्वीकार गर्‍यो । तर, उनको तेस्रो कार्यकालको पहिलो वर्षमा ४ वटा समस्या देखिएका छन्।

एक– चीनको जनसंख्या र आर्थिक वृद्धिदर दुवै घट्न थालेको छ । सन् २०२१ मा ८.९ प्रतिशत रहेको चीनको आर्थिक वृद्धिदर सन् २०२२ मा २.९९ प्रतिशतमा झर्‍यो । संसारको पहिलो जनसंख्या भएको देशबाट भारतभन्दा पछि पर्दै दोस्रो स्थानमा झर्‍यो । कुनै बेला बढ्दो जनसंख्या चीनको समस्या मानिएको थियो तर, घट्दो जनसंख्याको प्रभाव अर्थतन्त्रमा कस्तो पर्ने हो, अनिश्चित छ।

दुई– राष्ट्रपति सी सत्तामा आउँदा बीआरआईको विश्वव्यापी स्वागत र व्यापक चर्चा भएको थियो । पछिल्लो समय बीआआईको आलोचना विश्वव्यापी रूपमा बढ्दै गएको छ । बीआरआई कार्यान्वयन भएका देशहरू एकपछि अर्को गर्दै ऋणको पासो र आर्थिक संकटमा फस्दै गएका छन् । श्रीलंकाको हब्बनटोटा बन्दरगाह चीनले ऋण तिर्न नसकेको निहुँमा ९९ वर्षका लागि लिजमा लिएपछि चीनको नियतको समेत आलोचना हुँदैछ ।

तीन–सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी र शासक वृत्तमा आन्तरिक समस्या बढ्दै गएको संकेत पाइएका छन् । चीनका उच्च अधिकारी नै बेपत्ता हुने र उनीहरूको स्थिति अज्ञात रहने गरेको छ । केही महिनाअघि विदेशमन्त्री क्विन गैंग बेपत्ता भएका थिए । अहिले रक्षामन्त्री लि संग्फु बेपत्ता छन् । यी उच्च अधिकारीलाई राष्ट्रपति सीले आफूसँगको असहमतिको कारण अपदस्थ गरेको हुनसक्ने ठानिएको छ । पार्टीभित्रका प्रतिस्पर्धी र असहमत पक्षलाई पन्छाउने काममा राष्ट्रपति सी माहिर मानिन्छन् । यस्ता अधिकारीमाथि अन्ततः भ्रष्टाचारको आरोप लगाउने गरिएको छ ।

यो दाउपेच उनले सन् २०१२ मै आफ्ना मुख्य प्रतिस्पर्धी बो सी लाईविरुद्ध प्रयोग गरेका थिए । भनिन्छ–नेता बो सी भन्दा बढी प्रतिभाशाली थिए । उनलाई न पन्छाएको भए सीको उदय हुने थिएन ।

चौथो कारण भने युक्रेन युद्ध, रुससँगको निकटता र पश्चिमा देशसँगको बढ्दो दूरीपछि चीनले गुमाउँदै गएको विश्व बजार हिस्सा हो । सन् २०१९ पछि चीन जाने पर्यटक निरन्तर घट्दो छन् । अर्कोतिर पश्चिमा मुलुकले चिनियाँ वस्तुमाथि महँगो भन्सार महसुल लगाउन थालेका छन् । कतिपय बहुराष्ट्रिय कम्पनी चीनबाट निस्कनसमेत थालेका छन् ।

चीनको आर्थिक विकास एक प्रकारले पश्चिमा बजार केन्द्रित थियो । सन् १९७१ मा हेनरी किसिञ्जरको प्रयासमा माओ र रिचार्ड निक्सनले अमेरिका–चीन सम्बन्ध सुधार गरेका थिए । चीनले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थामा भूमिका पाएको थियो । विश्व व्यापार संगठनमा चीन सामेल थियो। भूमण्डलीकरण र पश्चिमा देशसँगको यस्तो सहकार्यले चीनको आर्थिक, प्राविधिक तथा भौतिक विकासमा मद्दत पुगेको ठानिएको थियो । पश्चिमा देशसँगको सम्बन्धमा आएको नयाँ चिसोपनपछि चीनले अन्तर्राष्ट्रिय बजार, व्यापार र सम्बन्धलाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्न गम्भीर बनेको छ ।

यी मुख्य ४ चुनौतीबीच राष्ट्रपति सीले सत्तामा आफ्नो पकडलाई झनै बलियो बनाएका छन्, तर सँगसँगै बुढ्यौलीतिर पनि प्रवेश गरेका छन् । आधुनिक चीनको सय वर्ष यताको इतिहासमा सी एक शक्तिशाली नेताका रूपमा उदित र स्थापित भएकोमा कुनै शंका छैन । तर, उनी चीनजस्तो ठूलो र शक्तिशाली देशको सत्तामा अशक्त र बुढ्यौली उमेरसम्म बसिदिए भने त्यसको दुस्प्रभाव कस्तो पर्ने हो भन्ने चिन्ता चीन र बाहिर बढ्दो देखिन्छ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्