भारतमा झन्डै एक वर्षदेखि चिनियाँ राजदूत रिक्त


 


एजेन्सी । भारतमा झन्डै एक वर्षदेखि चिनियाँ राजदूतावास राजदूतविहीनको अवस्थामा छ । यसअघिका राजदूत सन वेइदोङको कार्यकाल सकिएपछि चीनले भारतमा नयाँ राजदूत तोकेको छैन ।

भारतमा चीनले लामो समयसम्म नयाँ राजदूत नराख्नुलाई भारतीय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ खबर बनाएका छन् । सनलाई गत अक्टोबर २६ मा उपविदेशमन्त्री बनाइएको थियो ।

पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङले जापान र अमेरिकाका लागि राजदूत नियुक्त गरेका छन् । तर भारतका लागि उनले नयाँ राजदूत कहिले तोक्छन् भन्नेबारे चिनियाँ सञ्चारमाध्यममा पनि केही खुलाइएको छैन । चिनियाँ राष्ट्रपति सीले यसै महिना नयाँदिल्लीमा भएको जी-२० सम्मेलनमा आफू सहभागी नभई प्रधानमन्त्री ली छियाङलाई पठाएका थिए ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतका लागि सन् १९७६ पछि पहिलो पटक चिनियाँ राजदूतको पद रिक्त भएको हो । भारतले द्विदेशीय सम्बन्ध असामान्य र तनावपूर्ण छ भनेर चित्रित गरिरहेकाले चीनले तत्काल राजदूत नियुक्त नगरेको भन्ने पनि चिनियाँ विश्लेषण छ । सन् १९६२ को सीमा युद्धपछि सन् १९७६ मा सम्बन्ध सामान्य नहुन्जेलसम्म दिल्लीस्थित चिनियाँ दूतावासमा चार्ज डि अफेयर्स वा प्रथम सचिवले नेतृत्व गरेका थिए ।

पछिल्लो समय २०२० मा भारत र चिनियाँ सैनिकबीच लद्दाखको गलवान उपत्यकामा हिंस्रक झडप भएपछि दुवै देशबीच सम्बन्धमा चिसोपन देखिएको हो । जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चीनले आफ्नोतर्फ पनि हताहती भएको बताए पनि संख्या खुलाएको छैन ।

पछिल्लो समय पनि सन बेइजिङ फर्किएपछि दिल्ली दूतावासको नेतृत्व चार्ज डि अफेयर्स मा जियाले गरिरहेका छन् । त्यसो त सन् १९५८ देखि सन् १९७६ सम्म बेइजिङमा राजदूत राखेको थिएन । सम्बन्ध सुधार भएपछि सन् १९७६ मा तत्कालीन भारतीय विदेशमन्त्री वाईभी चौहानले केआर नारायणलाई राजदूत नियुक्त गरेका थिए । उनै नारायण पछि भारतको उपराष्ट्रपति र राष्ट्रपतिसमेत भए ।

चिनियाँ कूटनीतिक क्षेत्रमा जापान, अमेरिका, बेलायत र भारतका लागि राजदूत प्रतिष्ठित पद मानिन्छ । सनसँगै उनीभन्दा अघिका भारतका लागि चिनियाँ राजदूत लुओ चोउहुईलाई उपविदेशमन्त्री बनाइएको थियो । सन वेइदोङले अगस्ट २८ २०१९ मा तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको प्रमाणपत्र बुझाएका थिए । उनी त्यसअघि पाकिस्तानका लागि चिनियाँ राजदूत थिए ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्