सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगितको सूचीमा


 


काठमाडौं, असोज ७ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज पनि स्थगितको सूचीमा परेको छ ।

न्यायाधीश अभावका कारण सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा फेरि स्थगितमा परेको हो ।

४३ न्यायाधीशको दरबन्दी स्वीकृत भई ३५ न्यायाधीशको कोटा रहेको काठमाडौं जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित रहेका थिए ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किए लगत्तै सोको जानकारी सुरु अदालतलाई दिनुपर्ने आदेश दिएको थियो ।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

प्रकाशित मिति: ७ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्