सुन तस्करीका लागि वैदेशिक लगानीका नाममा चिनियाँका चार कम्पनी


 


काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यसमा संलग्न चिनियाँहरुका नयाँ-नयाँ धन्दा भने सार्वजनिक भइरहेका छन् । तस्करी प्रकरणमा मुछिएका चिनियाँहरुले नेपालमा वैदेशिक लगानीका नाममा मात्रै ४ व्यवसायका लागि अनुमति लिएको खुलेको छ ।

उद्योग विभागमा वैदेशिक लगानी भन्दै सुन तस्करीमा जोडिएका ४ चिनियाँले फरक-फरक उद्योगको स्वीकृति लिएको देखिएको हो । विभागले गत साउनमा मात्रै मि ताइनको नाममा उद्योग दर्ताको स्वीकृत दिएको थियो । जो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । सन् २०१९ मा पर्यटक भिसामा नेपाल आएकाहरुले व्यावसायिक भिसा लिएर सुन तस्करीमा जोडिएको खुलेको हो ।

त्यस्तै अन्य तीन चिनियाँले पनि उद्योग विभागबाट व्यवसाय सञ्चालनको अनुमति लिएको भेटिएको छ । तर सुन तस्करीमा पक्राउ परेका अधिकांश चिनियाँ पहिले पर्यटक भिसामा प्रवेश गर्ने र पछि त्यसैलाई व्यावसायिक भिसा बनाउँदै धन्दामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । एलेक्स नामका व्यक्ति भने भिसाविनै नेपाल प्रवेश गरेका थिए । तर तिनै व्यक्तिबाट सुनका लागि २६ करोड रुपैयाँ भुक्तानी भएको देखिएको छ ।

त्यसैगरी डिङ सेन्फा भन्ने व्यक्तिले पर्यटक भिसामा प्रवेश गरी नेपाली नागरिक लिएर त्यसैका आधारमा सुन तस्करीकै लागि भारत भ्रमण गरेको देखिएको छ । सुन तस्करीमै जोडिएका चिनियाँ मूलका भारतीय नागरिक थुप्नेङ छिरिङले एभरेस्ट बैंकबाट तीन करोड भुक्तानी गरेको पनि काठमाडौं जिल्ला अदालतमा पेस भएको अभियोजनपत्रमा उल्लेख छ । सुन तस्करीमै मुछिएका याङ विनले रेस्टुरेन्ट र भियना होटेलमा लगानी गरेका छन् । एउटा क्यासिनो पनि सुन तस्करीमा संलग्न चिनियाँले नै सञ्चालन गरेका छन् ।

हङकङबाट सुन ल्याउन कम्पनी खोल्ने प्रत्येक नेपालीलाई भने चिनियाँहरुले डेढ लाख रुपैयाँ दिएको भेटिएको छ । थुप्तेन छिरिङले हर्क राईमार्फत मान्छे खोज्न लगाउने र डेढ लाख दिएर फरक-फरक सातजनाको नाममा कम्पनी खोलिएको अनुसन्धानबाट देखिएको हो । विद्युतीय र ब्रेक प्याडका नाममा सुन ल्याउन तस्करहरुले कार्गो मात्रै १३ वटा प्रयोग गरेका छन् । २३ जना विदेशी संलग्न रहेको सुन काण्डमा ९ जना मात्रै पक्राउ परेका छन् ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्