क्यानमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै


 


काठमाडौं, असोज ६ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ ।

नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ । क्यानको विधान अनुसार ८६ जना मतदाता हुने व्यवस्था छ ।

तर झापाबाट दुई छुट्टाछुट्टै गुटले दुई फरक प्रतिनिधि पठाएपछि क्यानले दुवैको नाम समावेश नगरी कुल ८५ मदताताको नामावली सार्वजनिक गरेको छ ।

अध्यक्ष पदमा हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने तयारीमा छन् । उनीसँग लुम्बिनी प्रदेश उपाध्यक्ष विजयराज भण्डारीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

यस्तै सचिव पदमा चन्द समूहबाटै राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का उठ्दैछन् । क्यानको चुनावी प्रक्रिया बिहान सवा ८ बजेबाट सुरु भएको छ ।

८ः४० बजे उम्मेदवारको मनोनयन, ११ः२० मा उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११ः४० मा उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिन त्यसपछि अन्तिम नामावली प्रकाशन र मतदान शुरु हुने तालिका तय भएको क्यानले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्