एकदिवसीय विश्व वरीयतामा भारत पहिलो नम्बरमा उक्लियो


 


काठमाडौं, असोज ६ । भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ।

गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो।

एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै पाकिस्तान तेस्रोमा झरेको थियो भने अष्ट्रेलिया पहिलो वरीयता पुगेको थियो।

भारतले पहिलो वरीयतामा रहेको अष्ट्रेलियालाई पराजित गरेसँगै भारतले क्रिकेटका तीन वटै फर्म्याटमा कब्जा जमाएको छ। भारत टेस्ट र टी-२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ।

पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन। त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन। वरीयतामा नेपाल भने १५औं स्थानमा कायम छ।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्