राष्ट्रसंघको महासभामा प्रचण्डको विश्व समुदायसँग अपिल – साझेदारी र एकताबद्ध भएर अघि बढौँ


 


काठमाडौं, असाेज ५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अपिल गरेका हुन् । उनले भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताए । उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए ।

हतियारमा खर्च बढ्दै जाँदा २०३० को एजेन्डा कार्यान्वयनका लागि स्रोतसाधनको अभाव भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । यस्तो परिस्थितिलाई सच्याउँदै शान्ति, समृद्धि र प्रगतिका साझा लक्ष्यहरूमा ध्यान केन्द्रित गर्न उनले विश्व समुदायलाई अपिल गरे ।

नेपालको राजनीतिक गतिले स्थिर आकार लिएकाले अब नेपालको ध्यान आर्थिक रूपान्तरणको एजेन्डामा रहेको समेत उनको भनाई छ । वर्तमान सरकार विकासका कामलाई तीव्रता दिन र सुशासनलाई सुनिश्चित गर्न सम्पूर्ण शक्ति र स्रोत परिचालनमा केन्द्रित रहेको उनको दाबी छ ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्