एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं, असोज ४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धिको नतिजा सार्वजनिक गरेको छ ।
गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् ।
परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।
ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।
प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार