विश्व दृष्टि दिवसको अवसरमा टिकटक प्रतियोगिता हुँदै


 


काठमाडौं, असोज ४ । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सङ्घले विश्व दृष्टि दिवसको अवसरमा यहि असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गर्नेछ ।

प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ । टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले जानकारी दिए ।

आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगिहरुले निर्माण गरेको भिडियोको बिषयबस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा बिषयबस्तु समावेश गर्न पाइने छैन ।

प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समाबेश नगरिने संघका कार्यक्रम व्यबस्थापक रञ्जन साहले बताए ।

बिजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुक मार्फत गराइने संघले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्