भारतमा निसास्सिएर एकै परिवारका चार नेपालीको मृत्यु
काठमाडौं । भारतको बैंगलोरमा निसास्सिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए ।
मृत्यु हुनेमा ६० वर्षीय काले सरेरा, ५० वर्षीया लक्ष्मी सरेरा, ४० वर्षीया उषा सरेरा र १६ वर्षीया फूल सरेरा रहेका छन् । प्रहरीका अनुसार उनीहरू केही हप्ता अघि मात्र नेपालदेखि त्यहाँ पुगेका थिए ।
उक्त परिवारलाई पोल्ट्री फार्म नजिकै एउटा सानो झुपडी बनाइएको थियो । त्यहाँ उनीहरूले टिनको भाडामा काठ बालेर लामखुट्टे भगाउन धुवाँ पारेका थिए । तर, उक्त झुपडीमा भेन्टिलेसन राम्रो नभएका कारण अक्सिजनको कमीका कारण उनीहरूको मृत्यु भएको जानकारी दिइएको छ ।
त्यहाँको प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार