स्पिनर ललित राजवंशीको काँधको हड्डी भाँचियो, एसियाली खेलकुद गुमाउने
काठमाडौं, असोज ४ । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी अभ्यास खेलका क्रममा घाइते भएका छन् ।
चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता सुरु हुन एक साताभन्दा पनि कम समय बाँकी रहँदा ललित घाइते भएका हुन् ।
बुधबार अभ्यासका क्रममा २४ वर्षीय बायाँ हाते स्पिनर ललितको ‘राइट क्लाभिकल’ (काँधको हड्डी) भाँचिएको बताइएको छ ।
उनको शल्यक्रिया गर्नुपर्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । घाइते भएपछि अब उनले एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् ।
एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले दोस्रो खेल अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले भने सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश पाएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय सफलताहरूमा ललितले महत्त्वपूर्ण योगदान पुर्याएका छन् । ललितले हालसम्म देशका लागि २० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको १९ पालीमा २८ विकेट लिएका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा २० रन दिई पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेको रेकर्ड छ ।
प्रकाशित मिति: ४ आश्विन २०८०, बिहिबार