आलोचनापछि चिनियाँ राजदूतसँग परराष्ट्रले सोध्यो स्पष्टीकरण


 


काठमाडौं । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक रुपमा भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ ।

परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण माग गरेको परराष्ट्र स्रोतले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादस्पद् अभिव्यक्ति गत हप्ता दिएका थिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा खलल पु¥याउनेगरी टिप्पणी गरेका थिए ।

चिनियाँ राजदूतको यस विवादास्पद अभिव्यक्ति पछि उनको चर्को आलोचना भएको थियो । प्रतिनिधि सभा र राष्ट्रीय सभा दुवै सदनमा चिनियाँ राजदूतको अभिव्यक्ति प्रति कडा आलोचना गर्दै सांसदहरूले राजदूतलाई चिन फिर्ता पठाउने मागसम्म गरेका थिए ।

यस्तै संसदको अन्तर्राष्ट्रीय सम्बन्ध समितिले बैठक नै डाकेर चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै उनलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो ।

समितिका सबै सदस्यहरूले चिनियाँ राजदूतलाई आफ्नो कूटनीतिक सीमा ननाघ्न चेतावनी समेत दिएका थिए । समितिको निर्देशन पछि परराष्ट्र सचिवले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण माग गरेका हुन् ।

परराष्ट्र स्रोतका अनुसार सोमबार अपराह्न करीब सवा चार बजे परराष्ट्र मन्त्रालय छिरेका चिनियाँ राजदूत परराष्ट्र सचिवको कार्यकक्षबाट आधा घण्टापछि बाहिर निस्केका थिए ।

नाम नखुलाउने शर्तमा परराष्ट्रका एक जना उच्च अधिकारीले चिनियाँ राजदूतलाई आइन्दा नेपाल र तेस्रो मुलुकको सम्बन्ध बारे नबोल्न र कूटनीतिक मर्यादामा बसेर अभिव्यक्ति दिन निर्देशन समेत दिइएको जानकारी गराए ।

परराष्ट्र मन्त्रालयमा कार्यरत सुरक्षाकर्मीहरूले चिनियाँ राजदूत मन्त्रालयमा आएको, सचिवको कोठामा छिरेको पुष्टि गरेको छन् । तर परराष्ट्रका कोही कर्मचारीले पनि यसबारे बोल्न तैयार भएनन् । स्रोतका अनुसार चिनियाँ राजदूतले स्पष्टीकरणको कुरा कहीं कतै मीडियामा नआओस् भनेर परराष्ट्रका कर्मचारीहरूलाई दबाब दिएका थिए ।

प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्