विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु सडकमा
काठमाडौं, असोज ३ । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर सडकमा उत्रिएका छन् ।
नेपाल शिक्षक महासङ्घको अगुवाईमा शिक्षकहरुले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो ।
गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।
मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौँमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिए ।
उनले सरकार र महासङ्घबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको गुनासो गरे ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार