उपराष्ट्रपति यादव भन्छन् – तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ
काठमाडौं, असाेज १
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताएका छन् ।
हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताए ।
उनले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने बताए । उनले हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गरे ।
तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उनको भनाइ छ ।
प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार