आर्थिक मिडिया सञ्चालक संघ (इमान) को महासचिवमा कार्की
काठमाडौं । आर्थिक मिडिया सञ्चाल संघ (इमान) को महासचिवमा रामेश्वर कार्की मनोनीत भएका छन् । इमान कार्यसमितिको भदौ २९ गते बसेको पूर्ण बैठकले संस्थाका उपमहासचिव कार्कीलाई महासचिवमा मनोनित गरेको हो ।
यस अघि महासचिव रहेका सुरज प्याकुरेलले पदबाट दिएको राजिनामा स्विकृत गरी कार्कीलाई नयाँ महासचिवको जिम्मेवारी दिइएको इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले जानकारी दिए ।
विगत १८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा आबद्ध कार्की ८ वर्ष यता डेभलपमेन्ट मिडिया प्रमोशन प्रा.लि. द्वारा सञ्चालित अर्थतन्त्र डटकमका (सञ्चालक) प्रकाशक हुन् । कार्की २०६६ देखि २०७२ सम्म धादिङको गजुरीबाट प्रकाशित हुने हाइवेखबर साप्ताहिकको पनि प्रकाशक थिए ।
राष्ट्रिय योजना आयोगमा सञ्चार विज्ञको रुपमा तीन वर्ष अनुभव संहालेका कार्की पत्रकारिता क्षेत्रका विभिन्न संघ संगठनमा विभिन्न नेतृत्वदायी पदमा रही काम गरिसकेका अनुभवी व्यक्ति हुन् ।
उनि विगत ८ वर्ष यता नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चको कार्यकारी प्रमुखको रुपमा कार्यरत छन् ।
धादिङलाई कर्मथलो बनाएर पत्रकारिता शुरु गरेका कार्कीले धादिङ आवाज साप्ताहिक, रेडियो पालुङ, हाइवेखबर साप्ताहिक, नयाँ पत्रिका दैनिक, एभिन्यूज टेलिभिजन, नागरिक र रिपब्लिका दैनिकमा आबद्ध भइ पत्रकारिता गरेका थिए ।
प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार