बालअधिकार कार्यान्वयनमा गम्भीर बनौँ : राष्ट्रपति पौडेल


 


काठमाडौं, भदाैं २९
राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा शुभकामना दिँदै पौडेलले यस्तो बताएका हुन् ।

उनले बालअधिकार कार्यान्वयनमा राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको अहं दायित्व हुने बताए ।

‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन्’, उनको सन्देशमा भनिएको छ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्