ललिता निवास प्रकरणमा पक्राउ परेका सबै धरौटीमा रिहा
काठमाडौ, भदौ २६
ललिता निवास प्रकरणमा पक्राउ परेका सबै धरौटीमा रिहा भएका छन् । नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकुमार श्रेष्ठले धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।
कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार सबैले धरौटी रकम बुझाएर रिहा भएका छन् ।
सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै भदौ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २८९ जनालाई प्रतिवादी बनाएको थियो।
प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार