परीक्षाफल प्रकाशित
काठमाडौं, मंसिर २१
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमीले मंगलबार कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
गएको जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।
परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षामा १ लाख ७ हजार ९ सय ९५ ले विद्यार्थी सहभागी भएकोमा ४२ हजार ७ सय ९९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गएका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरेपनि यसपटक भने बोर्डले नियमित परीक्षाको नतिजा भन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको अर्यालले बताउनुभयो ।
उहाँका अनुसार एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा १ वा २ विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न अर्को एक वर्ष पर्खनु पर्ने भएकाले आंशिकको नतिजा छिटो सार्वजनिक गरेको हो ।
कक्षा १२ उतीर्ण भईसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थी मध्ये उतीर्णले अब स्नातक तह अध्ययन गर्न पाउने उहाँको भनाई छ ।
कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल भने आगामी पुस महिनाको १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार