मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या


 


एजेन्सी, भदाैं २५
भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा समस्या भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको हो ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका अनुमान छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बताइएको छ ।

भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।

भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ ।

यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्