नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै


 


काठमाडौं, भदौ २४ । आगामी भदौको अन्तिम सातादेखि ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु हुने भएको छ ।

नेपाल तेक्वान्दो संघले आइतबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो ।

नेपालस्थित दक्षिण कोरियाको दुतावास र संघको आयोजनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन् ।

नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९ औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।

यस च्याम्पियनसिपमा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताए ।

प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमितिहरू छन् ।

प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरु तय गरिएको संघले जनाएको छ । प्रतियोगिताको लागि करिब ३५ लाख लागत लाग्ने आयोजक जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्