नेपाली फिल्म ‘एक भगवत् गीता’ विवादमा, सेन्सर सिफारिस दिन अस्वीकार


 


काठमाडौं, भदौ २० । नेपाली फिल्म ‘एक भगवत् गीता’ रिलिज नहुँदै विवादमा तानिएको छ ।

केही धार्मिक संघसंस्थाले फिल्मको शीर्षक र विषयवस्तुलाई लिएर विरोध जनाएका छन् । फिल्म विवादमा तानिएपछि चलचित्र विकास बोर्डले तत्काल
फिल्मलाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ ।

बिहीबार बोर्डको अगुवाइमा फिल्मका निर्माता सुनिलकुमार थापा तथा हिन्दू जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघलगायतका धार्मिक संघसंस्थाका प्रतिनिधिबीच भएको छलफल निष्कर्षविहीन भएको छ ।

धार्मिक संघसंस्थाले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको दाबी गर्दै प्रदर्शन रोक्न माग गर्दै बोर्डमा निवदेन दिएका थिए ।

तर निर्माण पक्षले भने आफूहरुले सरकारी निकायको स्वीकृति दिएर फिल्मको शीर्षक राखेको र रोमान्टिक प्रेमकथामा आधारित फिल्म भएकाले धर्ममाथि आँच पुर्‍याउने कुनै विषयवस्तु नभएको बताउँदै आएको छ ।

बोर्डले बिहीबारको छलफल सहमतिमा पुग्न नसकेपछि शुक्रबारलाई कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मबारे विवाद भएपछि दुवै पक्षलाई मिलाएर मात्रै सेन्सर सिफारिसका लागि पठाउन मन्त्रालयले बोर्डलाई पत्राचार गरेको जानकारी दिए ।

झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका छ । फिल्म यही भदौ २९ गते रिलिज हुने तयारीमा छ ।

प्रकाशित मिति: २१ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्