परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्छ : सहमहामन्त्री महेन्द्र यादव


 


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’

रिपोर्टर्स क्लब नेपालले आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । उनले भने,‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ । चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरुलाई उहाँले अपमानित गर्नुभएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदुतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने,‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’

उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आईन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु ।’–उनले भने । यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने,‘परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन् । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होईन । उहाँले हामीलाई पढाउने होईन । सिकाउने होईन ।’

नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरुलाई कुटनीतिक मामिलामा सिकाउने स्विकार्य नभएको उनको टिप्पणी थियो । उनले भने,‘कुटनीति हामीलाइ पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाईदेउ भनेका छौं । तर भएको छ त ? हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढिमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं ।’

उनले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होईन । हाम्रो चुच्चे नक्शा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन । चीनसँगका हाम्रा नाकाहरु कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । तर, भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ।’

उनले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुशी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने–‘सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए । उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन् ।’ उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जोहरी छैन् । कसैले पनि पैसा लिएको भनेर भनेको छैन् । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन् । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन् ।’

यादवले बालकृष्ण खाँणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको जिकिर गरे । उनले भने,‘भुटानी शरणार्थीको सेटेलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा । क्याविनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरुको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए । ती अहिले पनि बाहिर छन् । जसको सिग्नेचर छैन्, उ जेलभित्र छ । आज न भोलि अदालतले बालकृष्ण खाँणलाई न्याय दिन्छ । सबैले भनेका छन् कि उहाँ निर्दोष हो । उहाँ निर्दोष सावित भएर बाहिर आउने मेरो विश्वास छ ।’

उनले तत्काल सरकार परिवर्तन नहुने दाबी गरे । उनले भने,‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष नै जान्छ । पाँच वर्षसम्म योे गठबन्धन रहन्छ । प्रचण्डजी पछि अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ र त्यसपछि देउवाले नेतृत्व लिएर चुनाव गराउनुहुन्छ । यो गठबन्धन कायम रहन्छ । कांग्रेसले अरुसँग गएर सरकार बनाउँदैन् ।’

उनले कांग्रेसले गृहमन्त्री हटाउने एजेण्डा बनाएकै दिन गृहमन्त्री परिवर्तन हुने पनि दाबी गरे । तर, अहिले गृहमन्त्री हटाउनेबारे आफूहरुले कुनै इस्यु वा एजेण्डा नबनाएको उनको जिकिर थियो । उनले भने,‘गृहमन्त्री परिवर्तनको इस्यु हामीले राखेको दिन परिवर्तन हुन्छ । हामीले भनेको दिन गृहमन्त्री परिवर्तन हुन्छ । तर, उहाँले निश्पक्ष भएर काम गर्नुपर्छ । उहाँले कांग्रेसलाई पेल्ने शैली बदल्नुपर्छ ।’ उनले अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले बढिभन्दा बढि काम गर्नुपर्ने सुझाए । उनले भने,‘जनताले कांग्रेसलाई एक पटक एकल बहुमत दिनुपर्छ ।’

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्