ननिताले जितिन् विश्व शारीरिक सुगठन प्रतियोगताको कांस्य पदक


 


padak

काठमाडौं, मंसिर-२०

नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेकी छिन् ।

‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टीमिटर उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । थाइल्यान्डको पटायामा तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कांस्य पक्का गरेकी हुन् ।

५ खेलाडी सहभागी उक्त स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते । सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे । पाँचै जनाबीच पहिले प्रिजजिङ राउन्ड भएको थियो र पछि पाँचै जनाले फाइनलमा पनि प्रतिस्पर्धा गरेका थिए ।

उद्घोषकले एलेसान्ड्रालाई पाँचौं र सुनलाई चौथो घोषणा गरेपछि ननिताको कम्तीमा कांस्य पदक निश्चित भएको खुशीयालीमा प्रतियोगिता आयोजनास्थल कन्भेन्सन हलमै रहेका ननिताका पति, बुवा, आमा, दिदी, भिनाजु, खेलाडी र अन्य नेपाली समर्थकले हुटिङ गरेका थिए ।
नेपाली शारीरिक सुगठनमा नेपाली महिला खेलाडीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको यो पहिलो अवसर हो । ननिता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने दोस्रो नेपाली महिला खेलाडी हुन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् ।

कीर्तिपुर नयाँ बजार निवासी ३१ वर्षीयाँ ननिताले ३ वर्षे छोटो शारीरिक सुगठन करियारमा एक घरेलु र एक अन्तर्राष्ट्रिय गरी जम्मा दुई प्रतियोगितामा मात्र खेलेकी छन् ।

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्