सङ्गीतकार सिंहलाई दीर्घ साधना सम्मान, चार पत्रकार पनि सम्मानित हुँदै


 


काठमाडौं, भदौ १९ । वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । आगामी २५ गते सांस्कृतिक संस्थान जमलमा आयोजना हुने जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा सिंहलाई उक्त सम्मान दिइने लागिएको हो ।

कार्यक्रममा सिंहका अलवा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मान प्रदान गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी दिए ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाली कला, भाषा, सङ्गीत क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले जनाएको छ ।

कम्पनीले आफ्नो स्थापनाको दसौँ वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो ।

सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण गर्न लागेको हो ।

४३ विधामा गीतसंगीतका स्रष्टालाई अवार्ड प्रदान गरिने अवार्डको उत्कृष्ट पाँच केही अघि सार्वजनिक भएको थियो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्