दक्षिण चीन सागरको ट्राइटन टापुमा हवाई बेस बनाउँदै चीन


 


एजेन्सी । चीनले फेरि पनि विरोधका बीच दक्षिण चीन सागरमा हवाई बेस बनाउन थालेको छ । एपीका अनुसार ट्राइटन टापुमा चीनले ड्रोन र लाइट विमान अवतरण गर्न सक्ने सानो हवाई बेस बनाइरहेको हो ।

सात हेक्टरमा फैलिएको ट्राइटन टापुमा चीनले हवाई बेस त बनाउँदैछ । तर, त्यसमा युद्धक विमान भने अवतरण गराउन सकिने छैन । प्लानेट ल्याबले खिचेको भू-उपग्रहको तस्वीरअनुसार चीनले दक्षिण चीन सागरमा हालैमात्र कृत्रिम टापुमा पूर्वाधार बनाउन सुरु गरेको हो । चीनले किन त्यहाँ पूर्वाधार खडा गरेको भनेर जानकारी दिएको छैन।

यो कामको विरोध पनि भइरहेको छ किनभने ३५ लाख वर्ग किलोमिटरमा फैलिएको जलक्षेत्र दक्षिण चीन सागरलाई चीनले मात्र नभएर अन्य राष्ट्रहरूले पनि दाबी गर्छन् । ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, इन्डोनेसिया र भियतनामले चिनियाँ पूर्वाधार निर्माणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन् । चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो अधिकार भएको दाबी गर्छ । चीनले यो विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ ।

जसको पनि अन्य दाबीकर्ता मुलुकहरूले विरोध गर्दै आएका छन् । केही समयअघि मात्र दक्षिण चीन सागरमा चिनियाँ तटरक्षकको जहाजले फिलिपिन्सको जहाजलाई आक्रमण गरेको थियो । त्यसबेला चिनियाँ जहाजले फिलिपिन्सको जहाजलाई पानीको फोहराले आक्रमण गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनापछि चीनले अन्तर्राष्ट्रिय जलक्षेत्रमा दादागिरी देखाएको फिलिपिन्सले बताएको थियो ।

यसअघि पनि तीनभन्दा बढी कृत्रिम टापु खडा गरेर चीनले सेना र हतियार दक्षिण चीन सागरमा तैनाथ गरेको अमेरिकाले बताएको थियो । यतिबेला फेरि चीनले उक्त क्षेत्रमा हवाई बेस बनाउँदा अमेरिका पक्कै खुसी छैन । अमेरिकाले पनि दक्षिण चीन सागरमा युद्धपोत पठाइरहन्छ । उक्त सागरलाई आफ्नो भएको दाबी गर्ने चीनबाहेकका राष्ट्रले यो सागरमा अमेरिकी उपस्थितिलाई स्वागत गरेका छन् ।

दक्षिण चीन सागरमा २१३ अर्ब ब्यारेल तेलसँगै ९०० ट्रिलियन क्युबिक फिट प्राकृतिक ग्यास भएको अनुमान छ । यो समुद्री क्षेत्रबाट वर्षेनि ७ ट्रिलियन अमेरिकी डलरको कारोबार पनि हुने गरेको छ । यस्तोमा सागरको ९० प्रतिशत पानीमा चीन एक्लैले दाबी गर्दा यो सागर वरपरका देश खुसी छैनन् ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्