चीनमा आर्थिक गतिविधि सुस्त


 


एजेन्सी । विश्वको दोस्रो ठूलो अर्थतन्त्र–चीनमा आर्थिक गतिविधि सुस्ताउँदा त्यसको प्रभाव विश्वव्यापी रुपमा देखिन थालेको छ । चीनले युद्धमा होमिएको रुससँग व्यापार बढाएका कारण अमेरिका, युरोपियन युनियन, बेलायत लगायतका देशहरुले चीनसँगको व्यापार कम गर्नुका साथै एसेट बबल उच्चतम बिन्दुमा पुगेपछि चिनियाँ अर्थतन्त्रमा समस्या बढ्न थालेको हो ।

विश्वव्यापी रुपमा चिनियाँ अर्थतन्त्रको योगदान कुल आर्थिक वृद्धिको एक तिहाइ रहेको छ । हाल चिनियाँ अर्थतन्त्र नै समस्याग्रस्त बनेपछि विश्वव्यापी अर्थतन्त्रमा त्यसको प्रभाव बढ्दो छ । कोभिड–१९ का कारण धरासायी भएको चिनियाँ अर्थतन्त्र शून्य कोभिड नीतिको अन्त्यसँगै उर्बर हुने आंकलन विज्ञहरुले गर्दै आएका थिए । शून्य कोभिड नीतिको अन्त्यसँगै चीनमा औद्योगिक गतिविधिले तीव्र गति लिएको थियो । चिनियाँ अर्थतन्त्रमा देखिएको सुधारका कारण एशियाली राष्ट्रहरुमा मात्रै नभई विश्व अर्थतन्त्र नै सुधारात्मक ढङ्गले अगाडि बढ्दै गएको थियो ।

चीनमा औद्योगिक गतिविधि तीव्र हुँदै गर्दा विश्वका अधिकांश राष्ट्रहरु मुद्रास्फीतिबाट गुज्रिरहेका थिए । आकाशिएको मूल्यवृद्धि नियन्त्रण गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा ब्याजदर बढाइरहेका छन् । जसकारण मानिसहरुको क्रयशक्ति घट्दै गएको छ भने चिनियाँ वस्तुको माग समेत घट्दै गएको छ । यसका साथै चीनले युद्धमा होमिएको रुससँग व्यापार बढाएका कारण अमेरिका, युरोपियन युनियन, बेलायत लगायतका देशहरुले चीनसँगको व्यापार कम गर्दै गएका छन् ।

चीनले उत्पादन गरेका चीप तथा विद्युतीय सामाग्रीहरुको माग घट्दै जाँदा निर्यातमा कमी आउँदै गएको छ । चीनले उत्पादन गरेका अत्याधुनिक चीपले सुरक्षा संयन्त्र माथि निगरानी गरेको भन्दै अमेरिकाले आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाकै पथ पच्छाउँदै युरोपियन युनियन अन्तर्गतका विभिन्न देशहरुले समेत चीनद्धारा उत्पादित चीपमा प्रतिबन्ध लगाएको छ ।

विश्व अर्थतन्त्र मन्दी उन्मुख भइरहेको समयमा केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव रियल स्टेट, सेयर बजार र निर्माण क्षेत्रमा परेको छ । मानिसहरु कर्जा लिएर लगानी गर्न डराइरहेका छन् । जसकारण हाल चीनको हाउजिङ बबल कोल्याप्स हुने अवस्थामा पुगेको छ भने चीनको व्यापार ओरालो लागिरहेको छ ।

एशिया क्षेत्रका देशहरुले चीनबाट विद्युतीय सामाग्री, खाद्यान्न, मेटल तथा पेट्रोलियम पदार्थ आयात गर्दै आएका छन् । तर विश्वव्यापी रुपमा आकाशिएको मुद्रास्फीतिका कारण एशिया तथा अफ्रिकाका विभिन्न देशहरुले आयातमा नियन्त्रण गरेका छन् । सन् २०२३ को ७ महीनामा चीनले एशियाली तथा अफ्रिकन देशहरुसँग गर्ने व्यापार १४ प्रतिशतले घटेको छ ।

बैंकहरुले बढाएको ब्याजदरका कारण रियल स्टेट क्षेत्र प्रभावित बनेको छ । सन् २०२१ मा चीनको रियल स्टेट कम्पनी–इभरग्रान्डे ग्रुपले ३०० अर्ब अमेरिकी डलर बराबरको दायित्व समयमा पूरा गर्न नसक्दा टाट पल्टिएको थियो । इभरग्रान्डे ग्ुप कोल्याप्स हुँदा चीनको रियल स्टेट क्षेत्रमा प्यानिकको अवस्था सिर्जना भएको थियो । जसको असर चीनको रियल स्टेट क्षेत्रमा आजसम्म पनि यथावत् छ ।

हालै चीनको अर्को ठूलो रियल स्टेट कम्पनी–कन्ट्री गार्डेन धरासायी अवस्थामा पुगेको छ । चरम तरलता अभावबाट गुज्रिरहेको कन्ट्री गार्डेनले आफूहरु ठूलो आर्थिक समस्याबाट गुज्रिरहेको र घर तथा जग्गाहरुको व्यापार घट्दै जाँदा पुनरकर्जाका लागि समेत समस्या भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले अगस्ट ३१ मा परिपक्क हुने बन्डको भुक्तानी गर्न नसकेको तथ्य बाहिरिएसँगै लगानीकर्ताहरुले कम्पनीको सेयर भारी मात्रामा बिक्री गरिरहेका छन् । कम्पनीको सेयर घट्दै जाँदा कन्ड्री गार्डेनले ११ वटा अनशोर बन्डको ट्रेडिङ बन्द गरेको छ ।

यस्तै चीनको शीर्ष इन्भेष्टमेन्ट फर्म– झोङरोङ इन्भेष्टमेन्ट फर्मले समेत बन्डको भुक्तानी गर्न सकेको छैन । सन् २०२२ को अन्त्यसम्ममा ८७ अर्ब डलर बराबरको फन्ड व्यवस्थापन गरिरहेको कम्पनीले चीनमा आर्थिक समस्या आएसँगै कम्पनीले लगानीकर्तालाई लगानीमा प्रतिफल र बन्डको पेमेन्ट गर्न नसक्दा कम्पनीको सेयरमा गिरावट आएको छ । सन् २०२२ मा कम्पनीले १० अर्ब डलर रियल स्टेट क्षेत्रमा लगानी गरेको थियो । कम्पनीले इभरग्रान्डे, क्यासा ग्रुपमा लगानी गरेको थियो । यी कम्पनीहरु टाट पल्टिँदा कम्पनीमा तरलता अभावको समस्या गहिरिँदै गएको हो ।

जटिल परिस्थितिबाट गुज्रिरहेको चिनियाँ सेयर बजारबाट सन् २०२३ को सुरुवातयता विदेशी लगानीकर्ताहरुले १० अर्ब डलर फिर्ता लिइसकेका छन् । चीनमा सिर्जना भएको जटिल आर्थिक अवस्थाका कारण चीनमा लगानी गर्ने लगानीकर्ता भारत र दक्षिण कोरियातर्फ आकर्षित भएका छन् ।

यस्तै विश्व बजारमा चिनियाँ मुद्रा युआन डलरसामु कमजोर हुँदै गएको छ । चीनमा उत्पादन हुने सामाग्रीको मागमा कमी आएसँगै वस्तु तथा सामाग्रीहरुको मूल्य घटेको छ । विश्व मुद्रास्फीतिबाट गुज्रिरहँदा चीनमा मुद्रास्फीति नकरात्मक रहेको छ । मानिसहरुको क्रयशक्तिमा आएको गिरावट, मनी सप्लाईमा भएको गिरावट र तरलता अभावको समस्या बढ्दा चीन हाल अवस्फीतिको समस्या बढेको छ ।

चीनमा अवस्फीति हुँदा अन्य देशहरुलाई फाइदा भएतापनि दीर्घकालीन रुपमा यसको प्रभाव नकारात्मक पर्ने देखिन्छ । आगमी समयमा यी विविध कारणहरुले चीनमा मात्रै नभई विश्वव्यापी रुपमा नै समस्या निम्त्याउने छ । अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ) का अनुसार चीनले १ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्दा विश्वव्यापी अर्थतन्त्र ०.३ प्रतिशतले बढ्छ । तर विश्वको दोस्रो ठूलो अर्थतन्त्र समस्याग्रस्त हुँदा त्यसको प्रभाव एशियाली क्षेत्रमा मात्रै नभई विश्वव्यापी रुपमा नै पर्नेछ ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्