आफ्नो भूभाग समेटेर चीनले जारी गरेकाे नक्साप्रति भारतकाे विरोध


 


एजेन्सी । चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ।

भारतीय विदेश मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसमक्ष पुर्‍याइसकिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्समा (जसलाई यसअघि ट्विटर भनिन्थ्यो) भनेका छन् “आज हामीले कथित ‘प्रचलित नक्सा’लाई लिएर चीनसँग कूटनीतिक तहमा कडा विरोध जनाएका छौँ।”

“यस्तो दाबीको कुनै आधार छैन। चीनको यस्तो कदमले सीमा समस्याको समाधानलाई जटिल बनाउँछ।”

भारतीय कांग्रेस सभापति मल्लिकार्जुन खड्गेले पनि चीनको दाबी आपत्तिजनक रहेको बताएका छन्।

यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।

चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ।

सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्