तीनजना सहसचिवको सरुवा, को-कहाँ पुगे ?
काठमाडौं, भदौ १२
सरकारले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित तीनजना सहसचिवको सरुवा गरेको छ ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै धनकुटा र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयमा कार्यरत एक सहसचिव सरुवा गरेका हुन् ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालय तानिएको छ भने काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै गृह मन्त्रालयका सहसचिव रूद्रादेवी शर्मालाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । शर्मा पनि पाँच महिना अघि मात्रै गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी पाएकी थिईन ।
प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार