सरकारका मन्त्री नै भन्छन्–संविधान संशोधन प्रस्ताव फेल हुन्छ, याे प्रचण्डकाे केटाकेटी निर्णय हाे
लमजुङ, मंसिर १८
भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आउनुभएका मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उहाँको भनाई थियो । “सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ ?”उहाँले प्रश्न गर्नु भयो ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोप समेत लगाउनुभयो ।
सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दाबी गर्नुभयो ।
राप्रपा र राप्रपा नेपालको एकीकरणले देशमा राष्ट्रवादी शक्तिको मनोवल उच्च राखेको भन्दै मन्त्री पाण्डेले आगमी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताउनु भयो ।
प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार