अब नेपालमै कलेजो प्रत्यारोपण
काठमाडौं, मंसिर १८
मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ ।
मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ ।
कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो ।
स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ ।
नेपालका कलेजो रोगीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नभएका कारण विदेशमा गई करोडौँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार