समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द


 


काठमाडौं, भदौ ७ । अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ । अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिँदैन ।

होम अफेयर्सले केही दिनअघि समीक्षाको नाममा रहेको अष्ट्रेलियाको सब–क्लास ४०८ भनिने भिसा रद्द गरिदिएको हो ।

गत वर्षको फागु पूर्णिमामा सिड्नीमा आयोजित एक कार्यक्रमका लागि समीक्षा त्यहाँ पुगेकी थिइन् । समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर–टेकरको रुपमा आफ्नी दिदीलाई समेत लगेर गएकी थिइन् । त्यसपछि समीक्षा नेपाल फर्किए पनि दिदी चाहिं अष्ट्रेलियामै बसिन् ।

यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा अर्को एक केयर–टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् । यो बेलामा केयर–टेकरको भिसा लागेन । समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ ।

यद्यपि उनको भिसा के कारणले रद्द भएको खुलेको छैन । ब्रिसबेनस्थित रजिस्टर माइग्रेन एजेन्ट नारायण कोइरालाले मापदण्ड पूरा नगरेको बेला यस्ता भिसा रद्द भएको हुन सक्ने बताए । यस्तो व्यक्तिले पुनः अप्लाई गर्दा तीन वर्षसम्म रोक लाग्न सक्ने उनको भनाइ छ ।

तीज पर्वको छेकोमा अष्ट्रेलियामा आयोजना गर्न लागिएको १३ वटा इभेन्टका लागि समीक्षा अष्ट्रेलिया जाने तयारीमा थिइन् ।

प्रकाशित मिति: ७ भाद्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्