नेपालको लगातार दोस्रो जित, कुवेत ३४ रनले पराजित
काठमाडौं, भदौ ६ । नेपाल मलेसियामा जारी चार देश सम्मिलित महिला टि–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । बायोमास ओभलमा नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमात्र बनउन सक्यो ।
कुवेतका दुई खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । जिफा जिलानीले ११ तथा खादिजा खलिले १० रन जोड्नु बाहेक अन्य खेलाडी सस्तैमा आउट भए । त्यस्तै मारिम्मा हैदर ९ रन अविजित रहिन् ।
कुवेतलाई रोक्न नेपालकी इन्दु वर्माले तीन, खुसी डंगोलले दुई तथा कबिता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दै निर्धारित ओभरमा आठ विकेट गुमाएर ८९ रन बनाएको थियो ।
नेपालका तीन खेलाडीले मात्र कुवेतविरुद्ध दोहोरो अंकको रन बनाए । विन्दु रावलले २० तथा इन्दु बर्माले सर्वाधिक २३ रन बनाउँदा काजोल श्रेष्ठ १९ रनमा हविजित रहिन् ।
सिता रानामगरले ७ , कप्तान रुविना श्रेत्रीले ५, कविता जोशीले दुई तथा सम्झना खड्काले एक रन बनाएर आउट हुँदा खुसी डंगोल एक रनमा अविजित रहिन् । त्यस्तै ओपनर पुजा महतो र कविता कुँवरले खाता नै खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा रोक्न कुवेतकी मारियाम्मा हैदर एक्लैले चार, मार्याम ओमरले दुई तथा प्रियन्दा मुरली र खादिजा खालिले एक एक विकेट लिए । मारिम्मा हैदरले चार ओभर बलिङ गर्दा जम्मा ८ रन खर्चेर नेपालको चार विकेट लिएकी हुन् ।
नेपालले पहिलो खेलमा हिजो हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने कुवेत मलेसियासँग ८ विकेटको पराजय ब्यहोरेको थियो ।
प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार