चीन र पाकिस्तानको निगरानी गर्न भारतले सीमाक्षेत्रमा तैनाथ गर्‍यो हेरोन मार्क– २ ड्रोन


 


काठमाडाैं । भारतले चीन र पाकिस्तानसँगको सीमाक्षेत्रमा इजरायलमा विकास गरिएको हेरोन मार्क–२ ड्रोन तैनाथ गरेको छ । भारतीय संचारमाध्यमहरूका अनुसार भारतको उत्तरी क्षेत्रहरू जो पाकिस्तान र चीनको सीमानजिक छन्, त्यहाँ यी ड्रोनहरू तैनाथ गरिएका हुन् ।

लामो समययता चीन र पाकिस्तानसँग भारतको सम्बन्ध सुमधुर छैन, सीमाकै विषयमा यी दुवै देशसँग भारतको टकराव भइरहन्छ । पाकिस्तान र भारतबीच जम्मु–काश्मिरको विषयमा लामो समययता विवाद छ, जसका कारण त्यहाँका सीमा क्षेत्रहरूमा झडप भइरहन्छ ।

पाकिस्तानको भूमिबाट आतंकवादी गतिविधि भइरहेको भारतले आरोप लगाइरहन्छ । उता भारतको अरुणाचल प्रदेशलाई चीनले आफ्नो प्रान्त भएको दाबी गर्छ, त्यति मात्र नभएर लद्दाखवरपरको सीमाक्षेत्रमा चीन र भारतका सेनाबीच सन् २०२० मा हिंस्रक झडप नै भएको थियो । त्यसबेला ५ चिनियाँ सेना र २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

यतिबेला भारतले उत्तरी क्षेत्रका विभिन्न स्थानमा हेरोन मार्क–२ ड्रोन तैनाथ गरिसकेको छ । एएनआईका अनुसार नर्दन सेक्टरको फरवार्ड एयरबेसमा यो ड्रोन तैनाथ भइसकेको छ । यो ड्रोनले चीन र पाकिस्तानको सीमामा एकैपटक निगरानी गर्न सक्ने बताइएको छ ।

यो ड्रोन निगरानीका लागि साथै जासुसी र दुस्मनलाई आक्रमण गर्न पनि प्रयोग गर्न सकिन्छ । यो ड्रोन ५२ घण्टासम्म लगातार आकाशमा उडेर निगरानी गर्न सक्षम छ । यो माइनसको तापक्रममा पनि उडिरहन सक्छ । यस ड्रोनबाट लामो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्र पनि प्रयोग गर्न सकिन्छ ।

भारतले इजरायलबाट खरिद गरेको हेरोन मार्क– २ ड्रोनले प्रतिघण्टा २०० किलोमिटरको दूरी पार गर्ने पनि बताइएको छ । भारतले यही ड्रोनबाट दुर्लभ जनावर चिताको पनि निगरानी गरिरहेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्