शिक्षा ऐनको विरोधमा उत्रिए शिक्षक,आज स्थानीय तहमा धर्ना
काठमाडौं, साउन २८ । संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन आन्दोलनमा उत्रिएका छन् ।
नेपाल शिक्षक महासंघको आयोजनामा सबै शिक्षक संघ, संगठनको साझा संस्था देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् ।
आज बिहान ११ बजेबाट २ बजेसम्म सबै स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइने नेपाल शिक्षक महासंघले जनाएको छ।
सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
महासंघले यसपघि जिल्ला, प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।
प्रकाशित मिति: २८ श्रावण २०८०, आइतबार