आज प्रतिनिधिसभा बैठक : के निर्वाधरूपले चल्छ ?


 


काठमाडौं, साउन २६
आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । साउन १० यता पटकपटक अवरोध हुँदै आएको बैठक आज पनि निर्वाधरूपमा चल्ने लक्षण भने छैन । एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउँदै आएको छ ।

सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रष्टीकरण दिने भएपछि मंगलबार सदन खुलाइएको भएपनि जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पुन: सदनमा अवरोध गर्‍यो ।

सदन खुलाउने विषयमा सभामुखसहित शीर्ष नेतृत्वबीच पटकपटक जुटेपछि उपलब्धि खास केही देखिएको छैन । अझै दलहरूबीच ठोस सहमति भएको छैन ।

आजको बैठकका कार्यसूचीमा प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसबन्धी पत्रहरूको व्यवहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने उल्लेख छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

उता, बाधा अड्काऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै शिक्षामन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची छ ।

विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली पनि पढेर सुनाइनेछ ।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्