महिला एशिया कप क्रिकेटमा नेपालले आज थाइल्यान्डको सामना गर्ने


 


nepali-women-cricket-teamकाठमाडौँ, मङ्सिर १६

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा  बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ ।

जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो ।

त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो ।

यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो ।

त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो ।

लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन ।

प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्