सांसद शर्माको सचिवालयले भन्यो – गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरियो


 


काठमाडौं, साउन २६
सांसद सुनिल शर्मालाई सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा पक्राउ गरिएको दाबी गरिएको छ ।

नेपाली कांग्रेसका सांसद शर्माले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन पक्राउ गरिएको शर्माको सचिवालयले दाबी गरेको हो ।

शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साँध्न राज्यसत्ताको दुरुपयोग गरी उनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।

‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिनाअनुमति र पक्राउ पुर्जीसमेत जारी नगरी सीआईबीले क्रुरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । बिहीबार अपरान्ह करिब ३ बजे नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीको टोलीले राजधानीबाट उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्