चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा फसेपछि गुम्याे सम्पत्ति


 


काठमाडौं । कुनै बेला एसियाकी सबैभन्दा धनी महिला बनेकी चिनियाँ ‘प्रोपर्टी टाइकुन’ याङ हुइयानले विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी छन् ।

चिनियाँ प्रोपर्टी डेभलपमेन्ट कम्पनी ऋण संकटमा परेपछि उनले दुई वर्षको अवधिमा विश्वका कुनै पनि अर्बपतिले भन्दा धेरै सम्पत्ति गुमाएकी हुन् ।

चीनको कन्ट्री गार्डेन होल्डिङ्स कम्पनीकी अध्यक्ष याङ हुइयानले सन् २०२१ को जुन महिनादेखि ८४ प्रतिशतले आफ्नो सम्पत्ति घटेको देखेकी छन् । मंगलबार मात्रै उनको सम्पत्ति ८.२ प्रतिशतले घटेको ब्लूमबर्गले जनाएको छ ।

याङको सम्पत्ति २८.६ अर्ब डलरले घटेर ५.५ अर्ब अमेरिकी डलर पुगेको छ। ब्लूमबर्गले आफ्नो सूचकांकअनुसार अति धनाढ्य व्यक्तिमध्यमा यो सबैभन्दा ठूलो डलर गिरावट भएको भनेको छ ।

४१ वर्षीया टाइकुन याङको सम्पत्ति मुख्यतया कन्ट्री गार्डेनमा रहेको उनको सेयरबाट लिइएको छ । घर जग्गाको व्यापारमा संकट छाउँदा यो कम्पनीको सेयर यस वर्ष झन्डै ६० प्रतिशतले घटेको छ । कम्पनी ऋण तिर्न नसक्दा डिफल्टमा जान सक्ने चिन्ता बढेको छ ।

अर्का चिनियाँ प्रोपर्टी अर्बपति चाइना एभरग्रान्ड ग्रुपका हुइ का यानको पनि यस्तै हालत बनेको छ । एभरग्रान्ड डिफल्टमा जाँदा २०१७ मा ४२ अर्ब अमेरिकी डलर सम्पत्ति रहेका यानको सम्पत्ति अहिले ३.२ अर्ब डलरमा झरेको छ ।

चीन सरकारले सन् २०२० मा घर जग्गा कारोबारका क्षेत्रमा अत्यधिक उधारोमाथि नियन्त्रण थालेयता प्रोपर्टी अर्बपतिहरुको सम्पत्तिमा गिरवाट आएको छ । अहिले घर जग्गा सम्पत्ति विकासकर्ताहरूलाई बढ्दो ऋणको पुनर्कर्जा गर्न समेत कठिनाइ भएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्