चिनियाँ अर्थतन्त्रमा अर्को धक्का, निर्यातमा साढे ३ वर्षयताकै ठूलो गिरावट


 


काठमाडौं । चीनको निर्यातमा साढे ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । जुलाई महिनामा चीनको निर्यात गत वर्षको तुलनामा १४.५% ले घटेको छ । जुन सन् २०२० फेब्रुअरी महिनायताकै उच्च गिरावट हो ।

विश्वभर मागमा संकुचन आएपछि चीनको निर्यात घटेको सीएनएनले उल्लेख गरेको छ । जुलाईमा लगातार तेस्रो महिना निर्यात घटेपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उपायहरु खोज्न बेइजिङमाथि थप दबाब बढेको छ ।

चीनको अर्थतन्त्रमा कोभिड महामारीयता एकपछि अर्को धक्का लाग्दै गएको छ । कोभिड नियन्त्रणका लागि लामो समयसम्म लकडाउन गरेपछि व्यापार र उत्पादनमा असर परेको थियो । पछिल्लो समय चीनको औद्योगिक गतिविधिमा पनि संकुचन आएको छ । साथै, चर्को मुद्रास्फीतिका कारण विश्वभर मागमा संकुचन देखिन थालेपछि चीनको निर्यात प्रभावित बनेको छ ।

कमजोर निर्यातले चिनियाँ अर्थतन्त्रलाई नयाँ धक्का दिएको छ । आगामी महिनाहरुमा चीनको निर्यात थप घट्नसक्ने विश्लेषणहरु भइरहेका छन् । यता, चीनको आयात पनि घटेको तथ्यांकले देखाएको छ ।

मंगलबार सार्वजनिक भएको तथ्यांकअनुसार जुलाई महिनामा चीनको आयात गत वर्षको सोही अवधिको तुलनामा १२.४% ले घटेको छ । निर्यातसँगै आयात पनि घट्नुले चीनको आन्तरिक माग पनि संकुचित बनेको प्रष्ट हुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्