ललिता निवास प्रकरण : मन्त्रीहरूलाई आफैँ आउन आग्रह गर्ने, नआए पक्राउ गर्ने तयारीमा सीआईबी
काठमाडौं, साउन २४
ललिता निवास जग्गा प्रकरणले अन्तिम समयमा ट्विस्ट लिने संकेत देखिएको छ । ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरण हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
१२ असारदेखि आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले १७ दिन बाँकी हुँदा चारजना पूर्वभौतिक पूर्वाधारमन्त्री विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, सञ्जय साह र डम्बर श्रेष्ठलाई पक्राउ गर्न पुर्जी लिएको छ ।
आइतबार पुर्जी लिएको सीआईबीले हालसम्म उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन । उसो त आइतबार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण हिनामिनाका निर्यणकर्तामाथिसमेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ ।
सो आदेशपछि ललिता निवासको जग्गा प्रकरणबारे मन्त्रिपरिषद्ले गरेको निर्यणमाथिसमेत सीआईबीले अनुसन्धान गर्ने देखिएको छ । हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको नाम जोडिएको छ ।
दुवैजनाले प्रहरीको अनुसन्धानमा सघाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । हाल नेपाल भने युरोप भ्रमणमा छन् । उनी १५ दिने भ्रमणमा गएका हुन् ।
सीआईबी स्रोतका अनुसार प्रकाउ पुर्जी जारी भएका मन्त्रीहरू नियन्त्रणमा लिने तयारी गरिएको छ । सीआईबीले मन्त्रीहरूलाई सकेसम्म आफैँ आउन आग्रह गर्नेछ। नआए पक्राउ गर्ने तयारी छ।
पूर्वप्रधानमन्त्रीको हकमासमेत के गर्ने भन्ने विषयमा सीआईबी आन्तरिक परामर्शमा जुटेको छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूमाथि समेत बयान लिने वा कागज गराउने भन्ने विषयमा सरकारी वलिक कार्यालयदेखि कानुन व्यवसायीसँग प्रहरी परामर्शमा जुटेको छ ।
सोमबार मात्रै प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुवँरले महान्यायधिवक्ता दिनमणि पोखरेलसँग भेटेका थिए । ललिता निवास प्रकरणमा अदालतले पनि थप व्यक्ति पक्राउका लागि पूर्जी जारी गरिसकेको छ।
प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार