सत्ता पक्षीय नेताहरूकै घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, साउन २२
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदार दलका नेताहरूको घेराबन्दीमा परेका छन् ।

सरकारले जनजीविकाका सवालमा काम गर्न नसकेको, पछिल्लोपटक सार्वजनिक भएका भ्रष्टाचार काण्डलाई सामसुम बनाउन खोजेको भन्दै सत्तारुढ दलका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका हुन् ।

प्रधानमन्त्री र गृहमन्त्री नै पछिल्लोपटक भएको सुन तस्करीमा नाम जोडिएका आफ्ना नेताहरूको बचाउमा लागिपरेको सत्तासीन सांसदहरूले आरोप लगाएका छन् ।

सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन काण्डको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने बताए ।

‘अवैध सुन तस्करीका सम्बन्धमा संसद्मा गृहमन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने सांसदहरूको माग हो’, महामन्त्री शर्माले भने– ‘संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उहाँहरूलाई बोलाउने विषयमा छलफल भएको छ । भ्रष्टाचारमा मुछिएका जोकोहीलाई मिहिन ढंगले छानबिनको दायरामा ल्याउनुपर्छ ।’

प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब संसद् चालु हुनुपर्नेमा जोड दिए । सुन काण्ड छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट निष्कर्षमा पुग्नका लागि संसद्को प्रमुख प्रतिपक्ष दल नेकपा एमाले यसको बाधक हुन नहुने उनको भनाई छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्