गायक योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान


 


काठमाडौं, साउन २१ । गायक तथा सङ्गीतकार योगेश्वर अमात्यले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेका छन् ।

ललितपुर बुङमतीको कार्यविनायक मन्दिरको सुनको छाना र गजुरका लागि उनले करोड रुपैयाँ बढीको १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले बताए ।

छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ ।

कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको भनाई छ ।

पुजारी सङ्घका अध्यक्ष तुलाधरका अनुसार मन्दिरका लागि अन्य भक्तजनले पनि सुन दान गरेका छन् । गायक अमात्य अहिले देश बाहिर छन् ।

‘जब सन्ध्या हुन्छ’ गीत मार्फत चर्चित भएका गायक योगेश्वरका थुप्रै चर्चित गीत छन् । जसमध्ये क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर, दसैँ नै हो कि यो मेरो दशा’ गीत चर्चित छन् ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्