भारतकी पालशिकर नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त
काठमाडौं, साउन २१ । भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा नियुक्त भएकी छन् ।
४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त भएकी नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपालको सिनियर राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा नियुक्त हुने पालशिकर पहिलो विदेशी हुन् । भारतीय टोलीकी पूर्वखेलाडी पालशिकर विगत लामो समयदेखि प्रशिक्षकको भूमिकामा सक्रिय छिन् ।
आफ्नो समयकी अलराउन्डर खेलाडी पालशिकरले भारतका लागि टेस्ट र एकदिवसीय दुबै प्रतियोगिता खेलेकी थिइन् । ब्याटिङ प्रशिक्षकका रुपमा पालशिकरको संलग्नताले नेपाली खेलाडीको क्षमता अभबृद्धिमा मद्दत पुग्ने विश्वकप क्यानले लिएको छ ।
पछिल्लो समय नेपालको राष्ट्रिय महिला क्रिकेट टोली टीट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तयारीमा ब्यस्त छ । टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ । विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहने छ ।
एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स ९यूएई०, हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।
एसियाली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोली ग्लोबल क्वालिफायर (विश्वस्तरिय छनोट प्रतियोगिता) मा प्रवेश गर्नेछ ।
विश्वस्तरिय छनोट प्रतियोगिता भने सन् २०२४ मा हुनेछ ।
विश्वस्तरिय छनोट प्रतियोगितामा दुई बलिया टोली श्रीलंका र आयरल्यान्डका अतिरिक्त विभिन्न महादेशबाट छनोट भएर आएका टोलीहरुको सहभागिता रहने छ ।
विश्वस्तरिय छनोट प्रतियोगितामा एसियाबाट छनोट भएका दुई, अफ्रिकाबाट छनोट भएका दुई, युरोपबाट छनोट भएका दुई, अमेरिकाबाट छनोट भएको एक, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएको एक टोलीले सहभागिता जनाउने छन् ।
विश्वस्तरिय छनोट प्रतियोगिताबाट दुई टोली महिला टीट्वान्टी विश्वकपमा छनोट हुनेछन् । महिला विश्वकप क्रिकेट सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ । महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ ।
हालसम्म महिला विश्वकपमा सहभागी हुने ६ टोलीको टुंगो लागिसकेको छ । जसमा अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज छन् ।
प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार