चीनमा भीषण बाढी: करिब १० लाख चिनियाँ विस्थापित, १३ करोड प्रभावित


 


काठमाडौं, साउन १८
चीनको हेवेइ प्रान्तमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । यहाँ १४० वर्ष यताकै ठूलो बाढी आएपछि जनजीवन प्रभावित भएको हो ।

बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी टोलीले उद्धारको काम गरिरहेको सिन्ह्वाले जनाएको छ । शहरको पूर्वी भागमा भने स्थितिमा सामान्य सुधार भएको तर शहरको पश्चिमी भागहरूमा बाढी जारी नै जनाइएको छ । निरन्तर वर्षाका कारण उद्धारमा समेत समस्या भइरहेको छ ।

शनिवार बिहान ८ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म झुओझोउमा औसत ३ सय ५५ दशमलव १ मिलिमिटर वर्षा भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलव ८ मिलिमिटर वर्षा भएको थियो ।

सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । चीनको राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् भने राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा ९ लाख ७४ हजार ४ सय जना बिस्थापित भएका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्