प्रहरीदेखि नेतासम्मलाई प्रभावमा पारेर चिनियाँ नागरिकले गर्छन् अपराध कर्म


 


काठमाडाैं, साउन १८
राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको एक क्विन्टल सुन सिनामंगलबाट बरामद गर्‍यो । हालसम्म सो प्रकरणमा विभागको टोलीले दुई चिनियाँ नागरिकसहित १८ जनालाई पक्राउ गरेको छ ।

विभागको दाबी अनुसार उक्त सुनका मालिकमध्ये एक जना जिक्वाङ लिङ हुन् । उनलाई सुन बरामदपछि चीन भाग्दै गर्दा विमानस्थलबाटै पक्राउ गरिएको हो । त्यस्तै, आइतबार मात्रै विभागको टोलीले अर्का चिनियाँ नागरिक दावा छिरिङलाई समेत पक्राउ गरेको छ । ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका दावालाई होटलबाटै पक्राउ गरिएको थियो ।

दावासँग नेपाली नागरिकतासमेत रहेको खुलेको छ । उनको कनेक्सन पूर्वआईजीपी सर्वेन्द्र खनालदेखि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसँगसमेत रहेको खुलेको छ ।

उनीहरूको छिरिङसँगको फोटोसमेत सार्वजनिक भएको छ । पूर्वराष्ट्रपति पुनका पुत्र दिपेश पुनले छिरिङसँग चिनजान रहेको स्वीकार गर्दै भने, ‘रोल्पाकै माओवादी नेतृसँग छिरिङको बिहे भएकाले हाम्रो चिनजान पार्टीगत रूपमा भएको हो । व्यक्तिगत रूपमा ऊ के गर्छ ? हामीलाई थाहा हुने कुरो भएन ।’

उपमहासचिव पुनले पनि छिरिङसँगको फोटोकै भरमा सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिनु दुखद भएको बताएका छन् । उनले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति वा न्यायिक समिति गठन गर्न माग गरेका छन् । त्यसो त पछिल्लो समय सुन तस्करीदेखि अन्य आपराधिक गतिविधिमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको छ ।

यसअघि विमानस्थल भन्सार विभागले विद्युतीय भेवभित्र लुकाएर ल्याएको ९ किलो सुनसमेत बरामद गरेको थियो । उक्त बरामद भेव छुटाउन भन्सार विभागका कर्मचारीलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलले पटक-पटक फोन गरेको खुलेको थियो ।

पछिल्लो चार वर्षको तथ्यांक केलाउने हो भने नेपालमा अवैध काममा संलग्न भएका ८ सय ३७ जना चिनियाँ नागरिक देश निकाला भएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार अवैध काममा संलग्न भएपछि सन् २०१९ मा ४ सय २७ जना, २०२० मा २२६ जना, २०२१ मा ३४ जना र २०२२ मा १५० जना देश निकाला भएका हुन् ।

प्रहरीका अनुसार चिनियाँ नागरिकहरू एटीएम ह्याकदेखि सुन तथा डलर तस्करी, वन्यजन्तु ओसारपसारमा पनि सक्रिय रहेको देखिएको छ । उनीहरू पर्यटन भिसाको दुरुपयोग गर्दै आपराधिक क्रियाकलापमा लागेको देखिएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्