अाज पनि नेपाल पराजित


 


काठमाडौँ, मंसिर १४

महिला एसिया कप टी–२० प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित बनेको हो ।

यसअघि नेपाल पाकिस्तान र श्रीलंकासँग पराजित भएको थियो । मंगलबार भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा मात्र ४१ रनमा सिमित बनेको हो ।

नेपालका लागि मात्र एक खेलाडीले दोहोरो अंकमा रन जोडिन् । ओपनर सीता मगरले सर्वाधिक १५ रनको योगदान दिइन् भने इन्दु वर्माले ९ तथा रुविना क्षेत्रीले ७ रन बनाए ।

बंगलादेशका लागि फहिमा खातुनले ४ तथा नहिदा अख्तरले २ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको बंगालदेशले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३३ रन बनाएको थियो ।

बंगलादेशका लागि निघार सुल्ताना र सन्जिदा इस्लामले क्रमशः ३९ र ३५ रनको योगदान दिए । नेपालका लागि संगीता राईले दुई तथा सीता मगर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

अब नेपालले मङ्सिर १६ मा थाइल्याण्ड र मङ्सिर १७ मा भारतको सामना गर्नेछ । राउण्ड रोबिनको आधारमा खेलाइने यो प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिको लागि भिडन्त हुनेछ ।

लगातार तेस्रो हारपछि नेपालको फाइनल खेल्ने सपना सकिएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्